काठमाडौँ । नेपाली कांग्रेस समर्थित संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरेकी छिन् ।
युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा, उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी भएका छन् । युनियनको महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी, समावेशी उपमहासचिवमा अभयकुमार राई र कोषाध्यक्ष माधव धिताल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस/आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् ।

























