काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
२९ महिनायता रिक्त रहेको उपसभामुख पदका लागि शुक्रबार प्रतिनिधि सभामा भएको निर्वाचनमा उनले बहुमत प्राप्त गरेकी हुन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा तथा राजमो जस्ता दलले समर्थन गरेका कारण भुसालको जित निश्चित थियो।
दस्तखतसहितको मतदानमा भुसालले १४८ मत पाएकी थिइन्। मतदानमा २४२ सांसदहरु उपस्थित थिए। भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ९३ मत परेको थियो । प्रस्तावमा मत दिन्न भन्ने विकल्पमा १ मत परेको थियो ।
भुसाल निर्वाचित भएसँगै नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गरिएन ।
२०१७ फागुन १ गते जन्मिएकी भुसाल पूर्वमन्त्री काशीनाथ गौतमकी छोरी हुन् । राजनीतिक परिवारमा जन्मिएकाले उनी सानैदेखि राजनीतिक वातावरणमै हुर्किइन्। बाबुसँगै सानै उमेरमा निर्वासित भइन् । पटकपटक गिरफ्तार पनि भइन्। उनी २०२८ सालदेखि सक्रिय राजनीतिमा छन् । उनी लामो समयदेखि नेपाली कांग्रेको केन्द्रीय सदस्य पनि हुन् ।
२०७४ सालको निर्वाचनमा भुसाल समानुपातिक तर्फबाट सांसद निर्वाचित भएकी हुन् । २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा उनी अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्। त्यसअघि २०५६ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित भएकी थिइन् । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी पराजित भएकी थिइन्।
२०५९ सालमा विघटित प्रतिनिधि सभा २०६३ सालमा पुनःस्थापित भएसँगै गठन भएको अन्तरिम संविधान मस्यौदा समितिमा पनि उनी कांग्रेसको तर्फबाट सदस्य रहेकी थिइन्।
स्नातकोत्तररकानुनमा स्नातकसम्मको अध्ययन गरेकी भुसाल वरिष्ठ अधिवक्ता पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा १७ वर्षसम्म अध्यापन पनि गरेकी थिइन्।
भुसाल २०७४ सालमा पनि प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवार बनेकी थिइन् । त्यतिबेला भुसाल पराजित हुँदा वाम गठबन्धनकी साझा उम्मेदवार शिवामाया तुम्बाहाङ्फे उपसभामुखमा निर्वाचित भएकी थिइन् ।


















