काठमाडौं । खाजाघरमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम जिल्लाको माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनिमाया लिम्बुलाई रहेको मानव बेचविखन ब्यूरोले जनाएको छ ।
चिनिमायाले काठमाडौंको टोखा नगरपालिका–९ मा सञ्चालन गरेको खाजा घरमा कोठा भाडामा लिएर नाबालिगलाई राखेर वेश्यावृत्ति गर्ने गरेको अनुसन्धानबाट थाहा भएको ब्यूरोले जनाएको छ । वेश्यागमनका लागि आउनेहरूसँग चिनिमायाले प्रति ग्राहक १ हजार लिने गरेको ती नाबालिगलाई खान मात्रै खुवाएर जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको पाइएको प्रहरीले जनाएको छ । जेठ १३ मा प्रहरीले नाबालिकालाई उद्दार गरेपनि चिनिमायालाई भने असार ३१ मा पक्राउ गरेको बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
उता ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मानबहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित गोठको पछाडी लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
























