काठमाडौँ । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा यूएन मिसनको फोर्स कमाण्डर नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले थापालाई फोर्स कमाण्डर नियुक्त गरेका हुन् ।
महासचिव गुटेरेसले शुक्रबार थापालाई सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरुलाई ‘यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् ।
शान्ति मिसनको दुईवर्षे जिम्मेवारी पूरा गरेर नेपाली सेनाका रथी ईश्वर हमाल नेपाल फर्किसकेका छन् । हमालको स्थानमा अब थापाले गएर काम गर्नेछन् ।
थापाले आफ्नो नियुक्ति भएको तर कुन मितिबाट जिम्मेवारी सम्हाल्न जाने भन्ने विषयमा अहिले नै जानकारी आइनसकेको बताए । फोर्स कमान्डरको जिम्मेवारी पहिलोपटक एक वर्षका लागि हुन्छ । त्यसपछि अर्को वर्ष पनि थप्ने प्रावधान रहेको छ ।
नेपाली सेनाले नेपाल सरकारको स्वीकृतिमा उपरथी थापालाई फोर्स कमान्डरका लागि स्वीकृति दिएको थियो । त्यही आधारमा सेनाले फोर्स कमान्डरको गृहकार्य गर्यो । थापा हाल सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयका महानिर्देशकका रूपमा कार्यरत छन् ।

























