काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ ।
सोमबार सो संगठनको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबललगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट समेत फालेका छन् ।
सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरीलगायत ९ जनाले उपकुलपति बास्कोटालाई ज्ञापनपत्र बुझाएका थिए । तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको जनाइएको छ ।
उता नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले उक्त घटनाको विरोध गरेको छ । राज्यसत्ताको आडमा प्राज्ञिक क्षेत्रलाई रणभूमि बनाउन खोजेको भन्दै अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले विरोध जनाएको हो ।
इन्चार्ज मदन विष्ट र अध्यक्ष शम्भुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रक्रियामा संलग्न दोषीमाथि तुरुन्त कडा कारबाहीको समेत माग गर्दछौं साथै सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउने व्यक्तिहरुमाथि अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं ।’

























