काठमाडौं । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग सरकारलाई बुझाएको छ ।
संगठनका प्रतिनिधिले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग सिंहदरबारमा भेट गरी शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको हो ।
विद्यार्थी संगठन (राप्रविसं) ले १२ कक्षासम्म शिक्षा निःशुल्क गर्न, विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग गरेको छ ।
शिक्षाको व्यापारीकरण नियन्त्रण गर्न र समुदायस्तरका विद्यालयको स्तरोन्नति गर्न समेत राप्रविसंले सरकारसँग माग गरेको छ ।
‘विद्यार्थी भर्ना भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठ्यपुस्तक र पाठ्य सामग्री नपाउनु चिन्ताको विषय हो, सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो। सन्दर्भमा शैक्षिक क्षेत्रको समग्र सुधार र विकासका लागि हामीले सरकारको ध्यानाकर्षण गराएका हौँ’, राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले भने।
गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन १३ असारदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



























