कास्की । कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ । आज साँझ ५ः०० बजेपछि पहिरोका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तल्लो भाग र मादी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई सतर्कतासाथ सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडाध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो ।
उहाँका अनुसार हुगुका पर्यटन व्यवसायी एवं नमस्ते गेष्ट हाउसका सञ्चालक एकजङ्ग गुरुङले आफ्ना भाइमार्फत हुगुगोठ छेउको क्यादुखोला थुनिएको सूचना गाउँमा दिनुभएको थियो ।
क्यादुखोला मादी नदीमा मिसिने खोला हो । मादी नदीमा अहिले धमिलो पानी बग्न थालेको बताइएको छ । अविरल वर्षाका कारण नदीको मुहानमा पहिरो खसेर नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ । (रासस)