काठमाडौँ । मदनभण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ चन्दनपुरमा कार दुर्घटना हुँदा पूर्वमन्त्रीसहित चारजना घाइते भएका छन् ।
काठमाडौँबाट धरानतर्फ जादै गरेको बा २ च ९००३ नम्बरको कार मदनभण्डारी राजमार्गमा दुर्घटना हुँदा कारमा सवार पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पासहित चार जना घाइते भएका हुन् । शेर्पा सवार निजी कार आफैं अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिए।
आदिवासी जनजाती महासंघ प्रदेशन नं. १ को विस्तारित बैठकका लागि जानेक्रममा कारमा सवार शेर्पासहित आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, गणेश थापा सवार थिए ।
जसमध्ये पूर्वमन्त्री सामान्य घाइते रहेको र गुरुङ, राई र थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गाडी चालक पेम्बा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । (रासस)

























