काठमाडौं । नेपाली सेना शान्ति मिसनमा खटिएको लेबनान र सिरिया भ्रमणपछि असार १३ गते औपचारिक भ्रमणका लागि अमेरिका पुगेका प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किएका छन् । अमेरिकी सेनाका विभिन्न युनिटको भ्रमण तथा उच्च सैनिक अधिकृतहरुसँगको भेटवार्ता पछि प्रधानसेनापति शर्मा आइतबार संयुक्त राष्ट्र संघको मुख्यालय पुगेका थिए ।
द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा युएन मिशनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ सरकारको स्वीकृतमा प्रधानसेनापति शर्माले असार ०४ गते १३ गतेसम्म लेवनान र सिरियाको भ्रमण गरेका थिए ।
आज स्वदेश फर्किएका प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की तथा रक्षा सचिव किरणराज शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.आई.पि. कक्षमा स्वागत गरेका थिए । साथै उनको सम्मानमा, जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ ।
विभिन्न समयमा हुने गरेका यस्ता उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै युएन मिशनहरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन मद्दत पुग्ने सेनाले जनाएको छ । त्यस्ते भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने जनाएको छ ।
मित्रत्रराष्ट्र अमेरिकाको भ्रमणबाट नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुनुका साथै दुई पक्षीय हित एवं पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ ।