काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)ले अमर, अशक्त तथा आर्थिक अवस्था कम्जोर भएका प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने भएको छ ।
एनप्याब्सनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अमर, अशक्त तथा आर्थिक रुपले कमजोर प्रहरी कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
आज नेपाल प्रहरी श्रीमती सङ्घको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच एनप्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबीच प्रहरी कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ ।
कार्यक्रममा एनप्याब्सनका सहअध्यक्ष न्यौपानेले एनप्याब्सन अन्तर्गत देशभर तीन हजार ५ सय विद्यालय आवद्ध रहेको बताउँदै एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारलाई अनिवार्य निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको बताएका छन् । त्यस्ता विद्यार्थीले नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस ल्याउनु पर्ने न्यौपानेले बताएका छन् ।
एनप्याब्सनले शिक्षाको माध्यमबाट समाजमा गर्नुपर्ने दायित्व पूरागर्दै आइरहेको बताउँदै सहअध्यक्ष न्यौपानेले गुणस्तरीय शिक्षाका लागि एनप्याब्सनले नेपाल प्रहरी श्रीमती सङ्घसँग सहकार्य गरेको बताएका छन् ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष सिंहले देशको विकासका लागि राष्ट्रसेवक प्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एनप्याब्सनले सहकार्य गरेकोमा खुशी व्यक्त गरेकी छिन् । उनले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यालयमा एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्ना शुल्क मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताइकी छिन । तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उनको भनाई छ ।
नेपाल प्रहरी श्रीमती सङ्घले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको जानकारी दिँदै आगामी दिनमा प्याब्सन र अन्य निकायसँग सहकार्य गर्दै जाने अध्यक्ष सिंहले बताएकी छिन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु किरण बज्राचार्य, पुजा चौधरी, दुर्गा सिंह र किरण राणालगायतको सहभागिता रहेको थियो ।