काठमाडौं । काठमाडौंको बालुवाटारमा मकै बिक्री गर्ने क्रममा काठमाडौं महानगरले गाडा उठाएर लगेपछि विचल्लीमा परेका दम्पतीलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्तेलसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले रु ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । नगरपालीकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताएका छन् । उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरि व्यवसाय गर्न सुझाव दिएका छन् ।
त्यस्तै चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरुको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
























