काठमाडौं । न्यूज २४ हुँदै ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्न पुगेका सञ्चारकर्मी रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका छन्। उनले आजैका मितिदेखि पूर्णकालिन राजनीतिमा प्रवेश गरेको बताएका छन् ।
लामिछानेले अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताएका छन्।
लामिछाने कुनै दलमा आवद्ध भइसकेका छैनन् । उनले नयाँ दल खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने पनि खुलाएका छैनन् । तर उनले आफ्नो विस्तृत योजना असार ७ गते सार्वजनिक गर्ने बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल मार्फत भनेका छन् –
“संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन, बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे । अब म आफ्नो आवाजलाई टिभीबाट संसदमा पुर्याउन चाहन्छु । म रहरले संचारकर्मी भएको हु, तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृहमा।”
त्यस्तै उनले भिडियो सन्देशमार्फत आफूसँग जनतालाई दिने नगद तथा भौतिक सामग्री केही नभएको पनि देश बनाउने भिजन भएको बताएका छन् । उनले असार ७ गते आफ्ना योजना सार्वजनिक गर्ने बताउँदै सल्लाह सुझाव दिन कार्यक्रममा उपस्थित भइदिन आम समुदायमा आग्रह पनि गरेका छन् ।
टिभीमा कार्यक्रम चलाउँदा सबै दलको चर्को आलोचना गर्दै आएका लामीछाने आउँदो संघीय निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवार बन्ने उनी निकटस्थले बताएका छन् ।
काठमाडौंबाटै उम्मेदवार बन्न चाहेका उनी गगन थापासँग क्षेत्र नम्बर ४ मा लड्ने वा अर्कै क्षेत्रबाट भन्नेमा टुंगो लागिनसकेको बताइएको छ । लामिछाने क्षेत्र नं. ४ मै वस्दै आएका छन् ।