काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताएका छन् ।
बिहीबार काठमाडौंमा पार्टीको केन्द्रीय स्कुल विभागले आयोजना गरेको पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दिइएको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले एमालेले चुनावमात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको भन्दै जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताए ।
सम्पूर्ण प्रतिक्रियावादी एमालेविरुद्ध लागेर बुथ कब्जा गरिएको स्थितिको सामना एमालेले गर्नुपरेको बताउँदै ओलीले जनमतका रूपमा हुनुपर्ने निर्वाचन भए पनि कुप्रचार र जालझेल भएको बताएका छन् ।
अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी पनि दिएका छन् । स्थानीय तहको निर्वाचनको परिणाममा प्रमुखहरूमा अपेक्षाभन्दा कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्याकर्तालाई निराश नहुन उनले आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले स्थानीयभन्दा ठूलो महासङ्ग्राम (सङ्घीय र प्रदेशको निर्वाचन) आउन लागेकाले त्यसमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
एमालेले दुईदिनसम्म गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख–उप्रमुखलाई प्रशिक्षण दिन लागेको हो ।