धादिङ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर गएरातिदेखि घर छाडेर अन्यत्र बस्न वाध्य भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना –६ बुढाथुममा १४, गङ्गाजमुना –५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घर विस्थापित भएका छन् । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नसकेको उनीहरुले गुनासो गरेका छन् । गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको सङ्ख्या धेरै रहेको बताएका छन् ।
कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको स्थानीयले बताएका छन् ।
शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् ।
























