काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यथाशिघ्र कृषकहरुलाई मल उपलव्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीपातीका समयमा यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, सम्बन्धित मन्त्री एवं नेपाल सरकारलाई निर्देशन दिएका हुन । खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको उनले बताएका छन् ।
त्यसअघि बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन ध्यानाकर्षण गरेका थिए । सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रीत निकै राम्रा कार्यक्रम आएपनि मल नपाउनु दुखद भएको बताएकी थिइन् । ।
त्यस्तै सांसद बिनादेवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको बताएकी थिइन् ।
त्यस्तै अन्य सांसदहरुले हरेक बर्ष हुने मल अभावको समस्या दीर्घकालिन रुपमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।