काठमाडौँ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड-१९ विरुद्धको ‘बुस्टर डोज’ दिने भएको छ । पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले आजदेखि बुस्टर डोज लगाउने भएको हो ।
१२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले मोडर्ना तथा फाइजर खोप दिँदै आएको छ । बुस्टर डोजमा पनि उनीहरुलाई मोडर्ना तथा फाइजर जुन लगाए पनि हुने मन्त्रालयले जनाएको छ ।
यसैबीच, सरकारले आगामी असार ९ गतेदेखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरेको छ ।
सरकारले सञ्चालन गरेको निःशुल्क खोप अभियानको कारण नेपालमा कोभिड नियन्त्रण प्रभावकारी बन्दै गएको छ ।
बुस्टरको रुपमा किशोरकिशोरीलाई मोडर्ना खोपको ०.२५ एमएल मात्रा वा फाइजर खोपको ०.३ एमएल मात्रा दिने सरकारको तयारी छ । हालसम्म मुलुकमा १२ वर्ष र सोभन्दा माथि उमेर समूहका जनसंख्यामध्ये २१.६८ प्रतिशत अर्थात् ५० लाख ५८ हजार ९ सय ६५ जनाले कोभिडको अतिरिक्त मात्रा खोप लिएका छन् ।




















