भक्तपुर । स्वर्गीय पुष्प बरुवालको संझनामा पुष्प बरुवाल स्मृति फाउन्डेसनले एक श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
२०२७ साल भदौ १८ गते जन्मिएका स्व. बरुवालको कोविड १९को दोस्रो लहरको संक्रमणबाट २०७७ जेष्ठ २४ गते अमेरिकामा स्वर्गारोहण भएको थियो ।
केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरुवाल परिवारका सदस्यहरु, साथीसंगी र शुभचिन्तकहरुको बाक्लो उपस्थिती थियो। श्रद्धान्जली कार्यक्रममा स्वर्गीय पुष्प बरुवालले शैक्षिक, राजनैतिक, सामाजिक र पर्यटन व्यवसायको संस्थागत विकास र उन्नतिमा पुऱ्याउनु भएको योगदानको स्मरण गरिएको थियो।

उहाँको संझनामा प्रकाशन गरिएको स्मारिकाको विमोचन कार्यक्रमका प्रमुख अतिथि ओलीले गर्नुभएको थियो। कार्यक्रममा ओलीले कोविड १९को महामारीको समयमा धेरै विकशित भनिएका देशहरुमा पनि अस्तव्यस्त भएको समयमा नेपालले सकेसम्म त्यसको व्यवस्थापन गरेको प्रसंगलाई उठाउनु भएको थियो । उक्त समारोहमा स्वगीय पुष्प बरुवालले छोटो समयमा धेरै क्षेत्रमा अग्रसर भै देश र समाजलाई योगदान दिएकोमा प्रशंसा गर्दै स्वर्गारोहणले परिवारमा परेको दुखद अवस्थालाई धैर्य रहन आग्रह गर्नुभयो।
स्वर्गीय पुष्प बरुबालको संझनामा उहाँले अध्यायन र अध्यापन गरेका शैक्षिक संस्थाहरूमा छात्रवृत्तिको व्यवस्था गरिएको र संझना स्वरूप गौरिगंज २ झापामा सालिक र धर्मशालाको स्थापना गरिएको जानकारी गराइएको थियो।

स्वर्गीय बरुवालकी श्रीमती खेमकुमारी बरुवाल र दुई छोराहरु छन् । पारिवारिक भेटघाटको सिलसिलामा अमेरिका गएको समयमा उहाँको स्वर्गारोह भएको थियो। साथमा उहाँकी ८५ वर्षीय आमापनि हुनुहुन्थो ।
उक्त कार्यक्रमको सभापतित्व बरुवालका साहिला भाइ गणेश बरुवालले गर्नुभएको थियो।

























