मकवानपुर । बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको थियो ।
एमालेले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरित नदिएको भन्दै मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरुलाई दवाव दिएको तथा ३ जना कर्मचारीहरुको सरुवा समेत गरेको भन्दै विरोध गरेको थियो ।
एमालेले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने समयमा त्यस विषयलाई पनि समेटेर जवाफ दिने र उक्त विषयमा प्रदेशका मुख्यसचिवको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गर्ने सहमतिपछि प्रदेशसभाको बैठक सुरु हुने भएको हो ।
बिहीबार बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरुले आ–आफ्नो बेच्नबाट उठेर विरोध जनाएका थिए । उनीहरुले सो विषयमा संसदीय छानविन समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै विरोध गरेका थिए ।
























