काठमाडौँ । पत्नी हत्याको मुद्दामा दोषी ठहर भएका रञ्जन कोइरालालाई सेन्ट्रल जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार कैदी पुर्जी जारी गरी कोइरालालाई सेन्ट्रल जेल लगिएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार सर्वोच्च अदालतको फैसलापछि कोइरालालाई कैदी पूर्जी दिई कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।
पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले सशस्त्र प्रहरीका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई २० वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च हुदै सर्वोच्च पुगेका कोइरालालाई सर्वोच्च अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला सुनाएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सुनाइएको २० वर्षको जेल सजाय बढी हुने ठहर गर्दै उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएका थिए ।
अदालतले दिएको कैदी पुर्जीमा सर्वोच्च अदालतको फैसलाको संक्षिप्त आदेशअनुसार २०९० साल मंसिर १३ गतेसम्म थुनामा रहने बताइएको छ ।




















