काठमाडौँ । पोखराबाट मुस्ताङको जोमसोमका लागि आज बिहान उडेको केही समयमै सम्पर्कविहीन भएको तारा एयरलाइन्सको जहाज अझै भेटिएको छैन । आजको लागि खोजी तथा उद्धार कार्य समेत स्थगित भएको बताइएको छ।
१९ जना यात्रु र चालक दलका तीन सदस्यसहित पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेको जहाज मुस्ताङको शिखा क्षेत्रस्थित आकाशमा पुगेपछि एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्क विच्छेद भएको थियो ।
जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ ।
दुर्घटना भएको शंकास्पद ठाउँमा मौसम खराब छ । बादलले ढाकिएकाले हेलिकोप्टर जान नसकेको बताइएको छ ।