काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुनिता डंगोलको विजय र्याली बाजागाजासहित शहरका विभिन्न क्षेत्र घुमाइएको छ ।
निर्वाचन आयोगले उपमेयरमा निर्वाचित भएको घोषणागरेसँगै मतगणनास्थल राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म विजय र्याली निकालिएको हो ।
उनलाई समर्थकहरुले खादा माला अविर लगाइदिएका थिए ।
नेकपा एमालेका तर्फबाट विजयी उम्मेदवारसहितको टोली पनि राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म गएका छन् ।
उपमेयरमा निर्वाचित डंगोलको मतदातालाई धन्दवाद दिन विजय र्याली शनिबार गरिने बताइएको छ । भोलि ११ बजेदेखि वसन्तपुरबाट र्याली निकालिने बताइएको छ ।
डंगोलले गठबन्धनबाट उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठलाई भारी मतान्तरसहित पराजित गरेकी हुन ।
विजय र्याली गर्ने क्रममा उपमेयर डंगोलले जनताको शासक होइन, सेवक बन्ने बताएकी छिन् । जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्ने बताउँदै डंगोलले खुट्टा तान्ने प्रवृत्तिमा नलाग्न युवाहरूलाई आग्रह पनि गरेकी छिन् ।

























