पोखरा । शुक्रबार दिउँसोसम्म गठबन्धनको अग्रता थियो । मेयरमा धनराज आचार्य ३ हजार भन्दा बढी मतान्तरले अघि हुँदा उपमेयरमा कोपिला रानाभाट करिब ५ सय मतले अघि थिइन् ।
शुक्रबार साँझदेखि उपमेयरको समीकरण फेरिएको छ । विस्तारै एमालेकी मन्जु गुरुङले अग्रता लिन थालिन् । अहिले अग्रतामा मात्रै छैन, फराकिलो भैसकेको छ ।
हालसम्मको नतिजा हेर्दा करिब-करिब यहाँको मेयरमा गठबन्धन उम्मेद्वार धनराज आचार्य र उपमेयरमा एमाले उम्मेद्वार मन्जु गुरुङले जित हात पार्ने सम्भावना देखिएको छ ।
अहिले आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७ कायम राखेका छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हुँदा आचार्यले ४५ हजार २७ मत पाए भने थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याईरहेका छन् ।
राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७ मत ल्याउँदा स्वतन्त्र उमेद्वार लौरो चिन्हका खड्कराज पौडेलले २ सय ७ सय ५९ प्राप्त गरे ।
उपमेयरमा गुरुङले ४७ हजार ३ सय २४ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रानाभाटले ४४ हजार ९ सय ६४ मत ल्याइन् । उनीहरुबीचको मतान्तर २ हजार ३ सय ६० पुगिसकेको छ ।
अब गणना हुन बाँकी रहेका वडाहरुमा एमालेको पकड छ । त्यसैले गुरुङको मतान्तर अझै बढ्ने आँकलन गरिएको छ । उपमेयरमै राप्रपाकी रन्जना सेनले ४ हजार ९ सय २७ मत प्राप्त गरेकी छन् । अब पोखरामा ३० हजार ६ सय ४६ मत गणना गर्न बाँकी छ ।
अहिलेसम्म २४ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये कांग्रेसले १७ र एमालेले ७ वडामा जित दर्ता गरेको छ । अहिले पोखराका ११, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।