काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडको वित्तीय विवरण हेर्दा दिनप्रतिदिन सफलता प्राप्त गर्दै गएको छ । बैंकले चालू आ.व. २०७८/७९ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको सफल एनआईसी एसिया बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।
बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पु¥याउन सफल भएको छ भने निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पु¥याएको छ ।
बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएकोे जनाएको छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । साथै, बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ, यो पनि २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सक्नुलाई पनि सफलता मान्न सकिन्छ ।
बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।
साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यो बैंक अग्रणी स्थानमा रहेको अनुमान गरिएको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको एनआईसी बैंक आ.व. २०७८/७९ को दोस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप संकलन, प्रति शेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, ग्राहक संख्या, शाखा संख्या, विस्तारित काउन्टर संख्या, एटिएम संख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक संख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको थियो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा नै सफलताको सिढी चढ्न सकियो भन्दै आम ग्राहकप्रति बैंकले आभार समेत व्यक्त गरेको छ । एनआईसी एसिया बैंकका मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक पनि हो ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई सेवा दिन एनआईसी एसिया बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको थियो । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूदेखि कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको एनआईसी एसियाले देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको जनाएको छ ।
बैंकले सफलता हासिल गर्नुमा व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्छ । त्यो भूमिका निर्वाह गर्न सफल भएकै कारण बैंकका सिईओ रोशनकुमार न्यौपानेलाई व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय ‘नेपाल व्यवस्थापन संघ’ले सम्मान समेत गरेको छ ।
सिईओ न्यौपानले व्यवस्थापन क्षेत्रमा पुर्याउनुभएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै व्यवस्थापन संघले हालै ‘Manager of the Year Award – 2022’ बाट सम्मानित गरेको थियो ।