काठमाडौँ । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पु-याउनुभएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई ‘Manager of the Year Award – 2022’ बाट सम्मानित गरेको छ ।
शनिबारराजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै Manager of the Year Award – 2022 का विजेता न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण Fellow NIC ASIANs लाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गर्नुभएकोमा व्यवस्थापन संघ, पुरस्कार छनोट समिति तथा व्यवस्थापन संघका पदाधिकारीप्रति कृतज्ञता जाहेर गर्नुभयो ।
न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा ७३ अर्बबाट ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको छ । त्यस्तैगरी निक्षेप संकलनतर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।
बैंकले न्यौपानेको नेतृत्वमा २०७८ पुस मसान्तसम्ममा उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको जनाइएको छ ।
नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धिहरू ऐतिहासिक रहेको जनाइएको छ । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पु-याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाखभन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरूमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन उहाँको नेतृत्वमा बैंक सफल भएको छ ।
साथै, समस्त ग्राहक महानुभावहरू, शेयरधनी एवं समस्त सरोकारवालाहरूको साथ, सहयोग र हौसलाले बैंकलाई कर्जा, निक्षेप, शाखा सञ्जाल, स्व–पूँजीमा प्रतिफललगायत अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा सर्वोत्कृष्ट स्थानमा कायम राख्नसमेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त यस Manager of the Year Award – 2022 सम्मानले बैंकको सञ्चालक समिति, DNA Oversight Committee लगायत सम्पूर्ण बैंक परिवारलाई गौरवान्वित बनाएको जारी विज्ञप्तिमा जनाइएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको २५ प्रतिशत जनतालाई यस बैंकमार्फत् सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।