धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । घरको भुइँतलामा पुरेको अवस्थामा साेमबार शव फेला परेकाे हाे ।
शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए । सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए ।
उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलास गरे पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो ।
सीताको हत्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए । श्रीमती हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ ।