काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्न साेमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा ठेक्का सम्झौता भए पनि १४ रोपनीमा संरचना निर्माण भएको प्रारम्भिक सूचना पाएको बताउनुभयो ।
उहाँले कार्यक्रममा देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताउनुभयो । यस्ता अतिक्रमण हटाउन आफू आएको उहाँले दाबी पनि गर्नुभयो । मन्त्री आलेले समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि छलफल हुने र यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चालन सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले ठेक्का दिँदा नै मिलेमताे गरेर दिइएकाे निष्कर्ष पनि निकालेकाे छ ।



















