काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौँको जिल्ला अधिवेशनमा एक लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ । एमालेको भोलि शुक्रबार काठमाडौं जिल्ला अधिवेशन हुँदैछ ।
मूलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र त्यसको तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो ।
यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनौट गरिसकेको उहाँले बताउनुभयो । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरूले सम्बोधन गर्ने तयारी गरिएको छ । शुक्रबार उद्घाटन हुने जिल्ला अधिवेशनको बन्दसत्र भने शनिबार राष्ट्रिय सभागृहमा हुनेछ ।
जिल्ला अधिवेशन उद्घाटनको दिन काठमाडौंको थली, मूलपानीको पिपलबोट र नारायणटार हुँदै तीन रुटबाट र्याली आयोजना गर्ने कार्यक्रम रहेको अध्यक्ष कृष्ण राईले बताउनुभयो ।

























