काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जना संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो । यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।
शुक्रबार जम्मा २३५ जना संक्रमित भेटिएकामा शनिबार डेढ सयभन्दा बढी संक्रमित थपिएका हुन् । शुक्रबार ७,८८५ पीसीआर परीक्षणमा २२४ जना मात्र संक्रमित भेटिएका थिए । जबकि शनिबार पाँच हजार सातजनाकै परीक्षणमा ३४२ संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २४४ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३२, भक्तपुरमा ९, मोरङमा ८ र चितवनमा ७ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।




















