काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै जनवर्गीय संगठनहरुको अधिवेशन गर्न निर्देशन दिनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले संगठनहरु मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिनुभएको हो । अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने उहाँले बताउनुभयो । ओलीले तत्काल अधिवेशन गर्न हरेक जनसंगठनलाई निर्देशित गर्नुभएको हो ।
त्यसैगरी १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्ने एजेन्डामा उल्लेख गरे पनि सो भने आज सम्भव नभएको एमालेले जनाएको छ । बैठक आइतबार पनि जारी रहनेछ ।