लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएकाे छ ।
गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप्रमुख शर्मालाई काठमाडाैंको होटेल र्याडिसनमा रात्रीभोज दिएकाे भन्दै अर्काे पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेकाे आराेप लगाएकाे छ ।
रात्रीभोजमा सहभागी गैरआवासीय नेपाली संघ यूकेका पूर्वउपाध्यक्ष थर्क सेनका अनुसार सो भोजमा बेलायतका लागि पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदीसमेतको उपस्थिति थियो । सेनाले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय निर्वाचनको यात्रामा काठमाडाैंको र्याडिसन होटलमा आयोजित रात्रीभोजमा सरकारी उच्च अधिकारीसहित सुझाव लिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् पुष्टि गरेका छन् ।
गत आइतवार पाटन उच्च अदालतले एनआरएनए निर्वाचन रोक्नु भन्ने परराष्ट्र मन्त्रालयकाे निर्देशन अन्तरिम आदेशमार्फत बदर गरिदिएपछि सोबिरुद्ध मन्त्रालयमार्फत सर्वोच्च अदालतमा अपिल गराउने उद्देश्यले आचार्यले मुख्य सचिवसहितको डिनरको आयोजना गरेकाे बताइएकाे छ । मुख्यसचिव बैरागी र आचार्य दुवैजना पर्वत जिल्लावासी हुन् ।
गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसकाे ठाडो हस्तक्षेपमा परराष्ट्र मन्त्रालयमार्फत महाधिवेशन तथा निर्वाचन रोकिएको संघको संस्थापन पक्षले आरोप लगाएको छ ।
सत्ता गठबन्धनको उम्मेदवारको रूपमा चर्चामा रहेका आचार्यले सरकार र शक्तिकेन्द्रको प्रयोग गरेर संघको निर्वाचन रोक्ने प्रयास गर्दै आएकाे अर्काे पक्षकाे आराेप छ । संघको निर्वाचनमा डिसेम्बर २६ र २७ तारिख अनलाइनमार्फत हुने गरी निर्वाचन समितिले तालिका प्रकाशन गरेको छ । संघको नयाँ नेतृत्वका लागि संघका वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र कुल आचार्य आकांक्षी छन् ।