Margadarsan


  • यू-१९ क्रिकेटको उपाधि लुम्बिनी प्रदेशलाई, सुदूरपश्चिम ११३ रनले पराजित

    मार्गदर्शन १९ मंसिर २०७८, आईतवार

    काठमाडौं । लुम्बिनी प्रदेशले वाईवाई यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

    कप्तान देव खनाल, विशाल विक्रम केसी अनी अजय चौहानको उत्कृष्ट प्रदर्शनमा सुदुरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले आईतबार उपाधि जितेको हो ।

    लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो ।

    सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनायँदा कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रन जोडे ।

    सुदुरपश्चिमलाई अलआउट गर्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

    त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।

    लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

    विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे। सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए ।
    शेर मल्ल र हेमन्त धामीले २-२ विकेट लिए ।

    नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगिता सात प्रदेशले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए। जसमा लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए ।

    फेसबुक प्रतिक्रिया