चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताउनुभएको छ ।
उहाँले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताउनुभएको छ ।
‘चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ’, उहाँले भन्नुभयो । उहाँले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताउनुभयो । यसका साथै उहाँले पदाधिकारीको नामावली विवादरहित ढंगले टुंगिसकेको बताउनुभएको छ ।
बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।



















