काठमाडौं । १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाउनुभएका अध्यक्ष केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गर्नुभएको छ ।
बन्दसत्रले आइतबार राति ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएपछि रावलको असहमतिका बीच ओली आकांक्षी नेताहरूसँग एकल र सामूहिक भेटवार्ता गरिरहनुभएको छ ।
भेटका क्रममा उहाँले आकांक्षी नेताहरूलाई व्यवस्थापन गर्न विभिन्न विकल्पमा मनाउने प्रयास गरिरहनुभएको छ । तर अहिलेसम्म रावलसँग ओलीले संवाद गर्नुभएको छैन । ओलीलाई लाइनमा गएर नभेट्ने अडान राख्दै रावल भेट्न जानुभएको छैन ।
रावल निकट एक नेताका अनुसार अध्यक्ष ओलीले आफूलाई भेट्न पालो कुरिरहेका नेता सकिएपछि मात्र रावलसँग कुरा गर्ने बताएका कारण रावलले भने चुनावी प्रचार थाल्नुभएको छ ।
आफ्नै टिम मिलाउन सकस परिरहेका वेला अध्यक्ष ओलीले नेताहरूलाई विभिन्न विकल्पसमेत दिनुभएको छ ।
राष्ट्रपति बनाउने आश्वासन नमानेपछि ओलीले नेम्वाङलाई उपाध्यक्षमै बस्न प्रस्ताव गर्नुभए पनि सो पदका अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।
उपाध्यक्षको दाबी गरिरहेका नेतालाई उपमहासचिवमा व्यवस्थापन गर्ने भनिए पनि माओवादी खेमाबाट आएका नेताहरूमध्ये एकजनालाई उपाध्यक्ष र एकजनालाई सचिव दिनैपर्ने दबाबमा ओली हुनुहुन्छ ।
दबाबमा परेपछि ओलीले १० बुँदे पक्षधर नेताहरूलाई पदाधिकारीका लागि सर्वसम्मत नाम दिने विकल्प अघि सारे पनि सो समूहका सबैजसो नेता उम्मेदवार भएका कारण आन्तरिक छलफल हुन नसकेको एक नेताले बताए । तर, आइतबार बिहान उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भने ओलीसँग भेट गरेर फर्किनुभएको छ ।
























