धनकुटा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताउनुभएको छ ।
एमाले धनकुटाले छिन्ताङ्गमा आयोजना गरेको ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताउनुभयो ।
आफ्नो सरकारका पालामा सहिद परिवारलाई ४२ वर्षपछि प्रदेश सरकारमार्फत् ५-५ लाख राहत उपलब्ध गराएको स्मरण गराउँदै ओलीले छिन्ताङ्गका सहिदलाई एमालेबाहेक कसैले वास्ता नगरेको दाबी गर्नुभयो ।
पार्टी फुट बोरामा कुहिएको आलु छानिएर फ्याँकिएजस्तै भएकाले यसले एमालेलाई कुनै असर नपर्ने उहाँको तर्क थियो । ‘अझै पनि जनलहर एमालेमा छ,आउने चुनावमा एमालेले बहुमतको सरकार बनाउँछ,’ उहाँले भन्नुभयो ।