भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवानेता तथा पूर्वमन्त्री महेश बस्नेतले विकासविरोधी राजनीतिक दललाई जनताले पन्छाउनुपर्ने बताउनुभएको छ । भक्तपुरको गुण्डुमा आयोजित एक सडक शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो ।
नेता बस्नेतले अघिल्लो सरकारले ल्याएका धेरै सडक आयोजना वर्तमान सरकारले काटेको भए पनि त्यसको असर भक्तपुरलाई हुन नदिने बताउनुभयो ।
‘विकासमा एक्यवद्धता, राजनीतिमा प्रतिस्पर्धा भन्ने हाम्रो नारा हो, विकासमा सबै दल मिलेर काम गरौँ, विकासविरोधी सबैलाई पन्छाऊँ’, बस्नेतले भन्नुभयो ।
नेता बस्नेतले विकासको सन्दर्भमा कसैको भर नपर्न नागरिकलाई आग्रह गर्नुभयो ।
विकासमा पहल, सहकार्य र तदारुकता आवश्यक हुने उहाँले बताउनुभयो । गफले विकास नहुने बस्नेतको भनाइ छ । ‘काम चाहीँ सिन्को नभाँच्ने, कुरा चाहीँ ठूला ठूला गर्ने, अनि जसले काम गर्छ, त्यसैलाई गाली गर्ने’, बस्नेतले भन्नुभयो । जसले काम गर्छ त्यसलाई देखिनसक्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो ।
























