ललितपुर । ललितपुरको पाटन दरबारमा जारी कात्तिक नाचमा बिहीबार बाथः प्याँख नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरबार परिसरमा रहेको डबलीमा साँझ ८ बजे सुरु नाच राति ११ बजेसम्म चलेको थियो ।
१२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमूलक कथामा आधारित यस नाट्य नाच देखाइएको कात्तिक नाच संरक्षक समितीका अध्यक्ष रविन्द्र चित्रकारले बताउनुभयो ।
चित्रकारका अनुसार झण्डै ३८० वर्षभन्दा अघि सिद्धिनरसिं मल्लको पालादेखि चल्दै आएको यो ऐतिहासिक नाच २००६ सालसम्म २७ दिन मञ्चन हुन्थ्यो ।
कात्तिक नाच चलाउन आर्थिक अभाव रहेको चित्रकार बताउनुहुन्छ ।
कलाकारहरूलाई चित्तबुझ्दो पारिश्रमिक दिन नसक्ने अवस्था रहेको बताउँछन् । २७ दिनसम्म नाच चलाउन कलाकार १५० भन्दा धेरै कलाकार आवश्यक पर्ने हुँदा बजेट अभावमा चलाउन नसकिएको उहाँको भनाइ छ ।
२००७ सालदेखि २०३७ सालसम्म दुई दिन चलाइएकाे थियो । २०३८ सालबाट २०७१ सालसम्म आठ दिन चलेको थियो । २०७१ सालदेखि २०७६ सालसम्म १२ दिनसम्म मञ्चन गरिएको यो नाच २०७७ सालमा कोरोना महामारीपछि सामाजिक दूरी कायम गरेर दुई दिनमात्र चलाइएको थियो । यो वर्ष भने २४ कात्तिक बुधबारदेखि १ मंसिरसम्म चल्नेछ ।
बुधबार र बिहीबार सुदामा प्याँख र बाथः प्याँख सामाजिक कथामा आधारित नाट्य कथामा आधारित नृत्य प्रस्तुत गरिएको थियो । शुक्रबारबाट हिन्दु धर्ममा आधारित भगवान कृष्णका कथामा आधारित नाट्य नृत्य प्रस्तुत हुनेछन् । तीमध्ये शितज्वर/विष्मज्वर युद्ध, महादेव/कृष्ण युद्ध, भैरव, भैरवकुमारी महालक्ष्मी नृत्य, मधुकैटव बध, हिरण्याक्ष वध, नृसिंह अवतार नृत्यलगायत छन् ।
३८० वर्षअघि सिद्धिनरसिंह मल्लको पालामा गुरु हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा यो नाच चलाइएको किंबदन्ती छ ।