काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी) ले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र सीका अनुसार उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको बिषयमा चीन सरकारसंग सहमति गर्न सुझाब दिदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउनसमेत आग्रह गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बिषय औल्याएका थिए।
यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको उक्त भेटबार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरेका थिए ।
यसैगरी, उक्त भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने समेत बताएका थिए।
यसैगरी, उक्त भेटवार्तामा दुई पार्टीबीचको छलफल र सहकार्यलाई अघि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ।
स्मरणीय छ, २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष– नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो । यो सहमतिको नेपाल कम्युनिस्ट पार्टीले अक्षरश : पालना गरेपनि सरकारले भने पूर्णरुपमा कार्यान्वयन गरेको छैन।