बाँके । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना दुई दशकमा पनि पूरा हुन सकेको छैन । आयोजनासँग सम्बन्धित समस्या पालिकामा नै समाधान गर्न आग्रहसमेत गरिएको छ । नीतिगत समस्याका कारण आयोजना पूरा नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीयवासीले द्रूत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिसँगको छलफलमा स्थानीयवासी र सरोकारवालाले कानूनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुङ्ग्याउनुपर्ने समितिका सदस्य ठाकुर गैरेले बताएका छन् ।
राष्ट्रिय जल उपभोक्ता महासङ्घका अध्यक्ष शालिकराम डाँगीले सिक्टा सिँचाइ आयोजनाले पूर्णता पाउन अझै ४० वर्ष लाग्न सक्ने शङ्का व्यक्त गरेका छन् । उनले गौरवको आयोजना भनिए पनि बाँकेका किसानको भावनाको कदर नभएको गुनासो गरेका छन् । स्थानीयवासी भीम ओलीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा नै त्रुटि रहेको भन्दै त्यसलाई संशोधन गर्नुपर्नेमा जोड दिए ।
दश वर्षभित्रै ३४ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने योजनाका साथ थालिएको सिक्टा आयोजना थप नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने योजना बनिसक्दा कार्यप्रगति भने निराशाजनक छ । आर्थिक वर्ष २०६२र०६३ मा बहुवर्षीय आयोजनका रूपमा सरकारले आफ्नै लगानीमा आयोजना शुरू गरेको थियो ।