काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेलले नेकपा एमाले पहिलो पार्टी भएकाले आफूहरुले फेरि पनि चुनाव जितेर सिंहदरबार छिर्ने बताउनुभएको छ । नेकपा एमाले रामेछापका अगुवा कार्यकर्ताको एक भेलालाई सम्बोधन गर्दै नेता ढुंगेलले यस्तो बताउनुभएको हो ।
नेता ढुंगेलले एमाले जस्तोसुकै अप्ठेरो र चुनौतीको सामना गरेर अघि बढ्ने पार्टी भएको बताउनुभयो । उहाँले एमालेले वडा र पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिएको बताउनुभयो ।
पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटमा पनि एमालेले त्यो एकताको सन्देश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एमालेले हरेक समस्यालाई सहजै समाधान गर्न सक्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सक्छौँ हामी, सक्छौँ र त जित्छौँ, जित्छौँ र त हिमाल चढ्छौँ, जित्छौँ र त वडादेखि सिँहदरबारसम्म छिर्छौँ ।,’
नेकपा एमाले देशको पहिलो पार्टी भएको ढुंगेलले प्रष्ट पार्नुभयो । ‘संगठनको हिसाबले, प्रभावको हिसाबले, विचारको हिसाबले, नेताहरुमा भएको कुशलताको हिसाबले, सिर्जनशीलताको हिसाबले, अरुभन्दा अब्बल छौँ भनेर हामी सबै ठाउँमा भन्नसक्छौँ’, ढुंगेलले भन्नुभयो ।
ढुंगेलले नेता कार्यकर्तालाई अहिलेको राजनीतिक अवस्थालाई विष्लेषण गरी अघि बढ्न आग्रह गर्नुभयो । ‘हामी कस्तो राजनीतिक अवस्थामा छौँ, त्यसलाई कसरी अझ बलियो बनाएर अघि बढ्न सक्छौँ, यसबारेमा नेता कार्यकर्ताले सोचेर अघि बढ्नुपर्छ’, उहाँले भन्नुभयो ।
अहिले आन्तरिक प्रतिस्पर्धामा भन्दापनि वाह्य शक्तिसँगको प्रतिस्पर्धामा पार्टीको सबै शक्ति लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पार्टीभित्र मिलेर जाऊँ, बाहिरी शक्तिसँग ढ्वाङ थापेर लडौँला, हाम्रा नेतालाई सिन्दुर लगाएर वडादेखि सिंहदरबारसम्म भित्र्याउँला’, ढुंगेलको भनाइ थियो ।
























