काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पार्टी सदस्यता संख्या झण्डै आठ लाख पुगेको छ ।
दशौं राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६ सय २० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीमध्ये पाँच लाख ९९ हजार ६ सय २४ जना पुरुष र एक लाख ८८ हजार नौ सय ९६ जना महिला रहेका छन् । एमालेको नवाैं महाधिवेशनमा पाँच लाख ९१ हजार संगठित सदस्य रहेका थिए । पार्टीको दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार संगठित सदस्य थप गरेको छ ।
एमालेको दशौँ महाधिवेशन यही मंसिर १० देखि १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा ०७७ चैतमसान्तसम्म सदस्यता लिएका व्यक्तिले मात्र महाधिवेशनमा प्रतिनिधि चयन हुन पाउनेछन् ।
एमाले महाधिवेशनका लागि कात्तिक २७ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्दैछ । महाधिवेशनमा एक हजार नौ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । (रासस)