मकवानपुर । बागमती प्रदेश सरकार विस्तार गर्न मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सकस भएको छ । आज दुईजना मन्त्री थप्ने तयारी भए पिन माओवादीका शालिकराम जम्कट्टेलमात्रै मन्त्री हुनुहुने भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुईजना मन्त्री थप गर्ने तयारी गरेको भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भएपछि चर्चामा भएका निमा लामाले तत्काल मन्त्रीको नियुक्ति खाने सम्भावना टरेको स्रोत बताउँछ ।
बागमतीमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे गत ११ कात्तिकमा मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बनेकै दिन उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
चार सदस्यीय सरकार चलाउँदै आउनुभएका पाण्डेले २२ कात्तिकमा विश्वासको मत प्राप्त गरेसँगै सरकारले पूर्णता पाउने चर्चा थियो । तर, बिहीबार माओवादी केन्द्र र कांग्रेसबाट एक-एकजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका जम्कट्टेललाई मात्रै मन्त्री बनाउने तयारी मुख्यमन्त्री पाण्डेले गरेको बुझिएको छ । जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको भनाइ छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिवसमेत रहेका लामा भने मन्त्री खान सिन्धुपाल्चोकदेखि हेटौंडा आइपुगे पनि पार्टीमा मन्त्री बन्ने आकांक्षीको लर्को नै लागेकाले तत्काल उहाँलाई ब्याक गरिएको जनाइएको छ ।
केन्द्रिय गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाएपछि संविधानले दिएअनुसार मन्त्रालय बनाएर सरकार सञ्चालन गर्ने योजना बनाउनुभएको छ । हाल १०९ सदस्य संख्या रहेको बागमतीमा २२ वटासम्म मन्त्रालय बनाएर गठबन्धनका आकांक्षीको चित्त बुझाउने योजनामा मुख्यमन्त्री पाण्डे हुनुहुन्छ ।
माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक गरी गठबन्धनका ५९ जना सांसदको समर्थन मुख्यमन्त्री पाण्डेलाई छ ।




















