विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको अहिले आएर प्रमाणित भएको बताउनुभएको छ ।
सोमबार विराटनगरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधानिक र अलोकतान्त्रिक फैसला गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘…यो कसरी गरिएको भन्ने उहाँहरु (न्यायाधीशहरु) अहिले भन्दै हुनुहुन्छ । सेटिङ रहेछ । कसका कल्लाई मन्त्री बनाइदिने, कसका कल्लाई राजदूत बनाइदिने, कसका कल्लाई कहाँ के दिने । यो त देखिएको कुरा नदेखिएको के के लेनदेन भयो…अझै खुल्न बाँकी होला ।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले न्यायालयले नै आफ्नो मर्यादा नराखेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले फैसला मानिदिएर मात्र हुँदैन इज्जत बढ्ने गरी फैसला गर्नुपर्छ।’
संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकार प्रयोग गरेको उहाँले बताउनुभयो । उहाँले उक्त फैसला संविधानविपरीत भएको पनि जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी डेमोक्रेटिक सिस्टटमा अदालत स्वतन्त्र मर्यादामा रहोस् मर्यादित हैसियतमा रहोस् भन्ने कामना गर्दछौं । तर दुखका साथ भन्नुपर्छ । हाम्रो सम्मानित अदालतले त्यसरी फैसला गरेन । सम्मानजनक निष्पक्ष फैसला गरेन । र संविधान बमोजिमको फैसला गरेन । संविधानभन्दा बाहिर गएर फैसला गर्यो ।’