काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट समावेशिताका आधारमा गर्न निर्देशन दिएको छ । पार्टी मातहतका कमिटी र सङ्गठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न एमालेले निर्देशन दिएको हो ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गर्नुभएको अन्तर पार्टी निर्देशन १४ मा केन्द्रीय सङ्गठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने उल्लेख गरिएको छ ।
यही कात्तिक २७ गते देशभरका भूगोल, विशेष कमिटी र जनसङ्गठनबाट समावेशीताका आधारमा एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो ।

























