काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोर बनाउन खोजेको दाबी गर्नुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको भन्दै गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताउनुभयो ।
अध्यक्ष ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको टिप्पणी गर्नुभयो ।
अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उहाँले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउनुभयो । एमालेका लागि सरकार नभएर मुलुक पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओली भन्नुभयो, ‘एमाले देशका लागि बनेको पार्टी हो । यो पार्टी मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी होइन । जनताका लागि जाग्ने पार्टी हो ।’ उहाँले भन्नुभयो, ‘कर्णालीमा कर्णालीले जनताले जित्नुपर्छ । भ्रमले जित्ने होइन । अरुका दलाल र ठगहरुले होइन ।’
अध्यक्ष ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताउनुभएको छ ।
एमालेको कर्णाली–काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए वि.सं. २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गर्नुभयो ।
उहाँले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको चर्चा गर्दै संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।’
कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टीबाट प्रवेश गरेकाहरुलाई एमालेमा स्वागत गर्दै अबको निर्वाचनमा कर्णालीमा कुनै भ्रम छर्ने र दलाली गर्नेहरुले नभई चेतनायुक्त पार्टी एमालेले जित्नुपर्छ भन्नुभयो । उहाँले पार्टी प्रवेश गराउनकै लागि आफू फेरि झापा र धनकुटाको भ्रमणमा जाने जानकारी गराउनुभयो ।