काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ ।
पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनले पारित गरेका दस्तावेजलाई १०औँ महाधिवेशनमा जानकारीका लागि टेबुल गरिने जानकारी दिनुभएको हो ।
महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको एमालेले चिवतनमै महाधिवेशन गर्ने फेरि दोहोर्याएर जानकारी दिएको छ ।
उक्त महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने जानकारी दिइएको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा करिब पाँच लाखजना सहभागी हुने प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमार्फत् नै नेतृत्व चयन गरिनेछ ।
यसैबीच एमाले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।
पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले देशभित्रकै राजनीतिक दलका शीर्ष नेतादेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिनुभएको हो ।
सोही क्रममा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।’
एमाले महाधिवेशन आगामी १०-१२ मंसिरमा चितवनमा आयोजना हुँदैछ ।