लमजुङ । लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले ट्रस्ट पुल निर्माण गरेको छ । डुम्रे–बेंसीसहर सडक खण्डअन्तर्गत बेंसीसहर नगरपालिका-२ राक्से खोलामा फलामको ट्रस्ट पुल निर्माण गरेको हो ।
स्थानीयहरूले अस्थायी व्यवस्थापनका निम्ति भए पनि पुल निर्माण गर्नका लागि सेनालाई अनुरोध गरेपछि ६० हजार बरावरको लगानीमा पुल निर्माण गरिएको श्रीजङ गणका गणपति जयराम थापाले बताए ।
सेनाले ब्यारेकभित्र रहेका फलामका सामाग्री र केही सामाग्री बाहिरबाट खरिद गरी १२ फिट लम्बाइ र तीन फिट चौडाइको फलामको ट्रस्ट पुल निर्माण गरेको गणपति थापाको भनाइ छ ।
पुल निर्माण भएसँगै उक्त खोलामा पैदलयात्री र दुई पाङ्ग्रे सवारी गुडाउन सहज भएको सेनाले जनाएको छ । यसअघि कजवे मात्र रहेको उक्त खोलामा पैदल यात्री र दुई पाङ्ग्रे सवारीका निम्ति निकै कठिन भएको थियो ।