काठमाडौं, कात्तिक १३। नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ ।
केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको बताएको छ । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटेको बताएको हो ।
केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिनुभयो । यस्तै सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालू आवका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भएको छ ।
छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने भएको छ । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले बताएको छ ।
त्यस्तै, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिंदै बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने भएको छ । बीउविजन ऐन, २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउविजनको मात्र विक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ । (रासस)