काठमाडौं । नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीको सम्मानमा नेपाल वायुसेवा निगममा स्वागत एंव छलफल कार्यक्रम आयोजना गरियो । कार्यकारी अध्यक्षले निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्ने तथा थप नयाँ विमानहरुको खरिदको लागि नाफामूलक दीर्घकालिन खरिद योजना सहित मन्त्रालयमा जाने योजना रहेको जनाउनु भएको छ ।
विगत १२४ दिनदेखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त संघर्ष समितिको ४ वटा बुँदागत माग सम्वन्धि उहाँले विदेशस्थित कर्मचारीको कटौति भएको तलव भत्ता कटौती नगर्ने र अस्वाभाविक रुपमा बृद्धि गराइएको कार्यकारी प्रमुखको तलव आफूले नलिने घोषणा गर्नुभयोे साथै जारी आन्दोलनको अन्त्य निचोडको लागि वार्तामा आउन आव्हान गर्नुभयो ।
भविष्यमा हुने ठूला र दीर्घकालिन निर्णय लिन सबै सरोकारवाला निकाय र सबै कर्मचारी वर्गको आपसी सुझबुझको आधारमा गरिने वाचा गर्नुभयो । तिनवटै ट्रेड युनियनहरुले उहाँको छोटो मन्तव्य पछि स्वागत गरेका थिए ।
कार्यक्रममा उहाँले राष्ट्रिय ध्वजावाहकलाई अवतरणको क्रममा आकाशमै होल्ड गरिराख्ने र नीजि÷विदेशी वायुयानलाई चाँडो पालो दिने परिपाटिको अन्त्यको निमित्त सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने व्यक्त गर्नुभयो ।
निगमका लागि आफ्नो लामो अनुभवको सदुपयोग गर्दै वर्तमान कार्यकारी अध्यक्षबाट संस्थालाई कसरी अगाडि बढाउने भन्नेमा व्यवस्थापनका उच्चसोच र कर्मचारीमा सामुहिक सक्रियताले संस्था प्रगतितर्फ लाग्ने बताउनु भयो ।