काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले न्यूनतम प्रिमियम दरसम्बन्धी निर्देशन पुनरावलोकन गर्न बिमा समितिलाई ध्यानाकर्षण गराएको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गरी बिमा समितिले गत ६ असोजमा सबै निर्जीवन बिमा कम्पनीहरूका लागि जारी गरेको गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दरसम्बन्धी परिपत्रबाट निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेकोप्रति ध्यानाकर्षण गराएको हो ।
खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जाने महासंघको भनाइ छ ।
स्तवन्त्र ऊर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघलगायतका आयोजना निर्माणमा संलग्न संघ-संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बिमा समितिले जारी गरेको निर्देशनमा बिमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि बिमितले विमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरू राखिएका छन् । यस विषयमा सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न पनि महासंघ माग गर्दछ ।