काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले बाढी, पहिरो र डुबान पीडितलाई अविलम्ब राहत र सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
अध्यक्ष सीपी गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानबाट विचल्लीमा परेका सबै जनतालाई खाद्यान्न, औषधि र लुगाफाटोका साथै घर बनाउने व्यवस्था अविलम्ब गर्न केन्द्र सरकार, प्रदेश सरकारहरु र स्थानीय तहसँग माग गर्नुभएको छ ।
‘हजारौं घर–परिवारको विचल्ली भएको छ । किसानहरुले काटेको धान नै बाढीले बगाएको वा पानीमा डुबेको छ । उनीहरुसँग न बस्ने बास छ, न त खाने गाँस,’ विज्ञप्तिमा भनिएको छ, ‘विचल्लीमा परेका सबै जनतालाई खाद्यान्न, औषधि र लुगाफाटोका साथै घर बनाउने व्यवस्था अविलम्ब गर्न केन्द्र सरकार, प्रदेश सरकारहरु र स्थानीय तहहरुसँग जोडदार माग गर्दछौं ।’
मोर्चाले विपदमा जनतालाई राहत दिलाउन र उनीहरुको व्यवस्थापनमा सबै किसिमको सहयोग गर्न संगठनका सम्पूर्ण सदस्यहरु र समर्थकलाई समेत निर्देशन गरेको छ ।